काठमाडौँ । सेरो फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘रमिताको पिरती’ आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। रिलिज मिति नजिकिँदै गर्दा फिल्मको दोस्रो गीत ‘जुनी भर’ बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको छ।
सार्वजनिक रोमान्टिक शैलीको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न सकिन्छ।
गीतको भिडियोमा विनयले आनालाई फकाउने प्रयास गरेको र आना भने सजिलै नमान्ने दृश्य प्रस्तुत गरिएको छ। यसले फिल्ममा विनय र आनाको प्रेमकथाको सुरुवातलाई संकेत गर्ने निर्माणपक्षले जनाएको छ।
फिल्ममा आना शर्मा र विनय श्रेष्ठसँगै समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायत कलाकारहरूको अभिनय रहेको छ।
सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा सागर लम्सालको लगानी छ। आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने सह–निर्माता रहेका छन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका छन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत समावेश गरिएको छ। शिशिर बिशाङ्खेले छायांकन गरेको फिल्मको ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका हुन्।
गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रियतानाको छायांकन, झोलेइज्मकै सम्पादन तथा कृतिका बरालको कोरियोग्राफी रहेको छ। सम्पूर्ण फिल्मको सम्पादन सुनिल सिभाकोटीले गरेका छन्।निर्माणपक्षका अनुसार ‘रमिताको पिरती’ ले एक युवतीको प्रेमभावनालाई सूक्ष्म र भावनात्मक ढंगले पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।


