काठमाडौं । आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा चलचित्रको एक्सन–सस्पेन्स कथावस्तु, सशक्त द्वन्द्व दृश्य र पात्रहरूबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठ लाई दमदार एक्सन अवतारमा देखाइएको छ भने अभिनेत्री अञ्जना बराईली सँगको केमेस्ट्री पनि आकर्षक देखिन्छ। अञ्जना फिल्ममा प्रहरी इन्स्पेक्टर को भूमिकामा देखिएकी छन्।ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायत कलाकारको झलक पनि देख्न सकिन्छ।
ट्रेलर सार्वजनिक भएपछि निर्देशक विजय केरुङ ले चलचित्रले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने,“फिल्मको कथाअनुसार नै ट्रेलर तयार गरिएको हो। एक्सनसँगै सामाजिक सन्देश बोकेको यो चलचित्रले दर्शकलाई बाँध्ने विश्वास छ।”चलचित्रले सत्ताका लागि नेताहरू जे–सुकै गर्न सक्छन् भन्ने यथार्थलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।
दिव्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ मा सुशील श्रेष्ठ र अञ्जना बराईलीका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङ ले गरेका हुन्। दीपक शिवाकोटी को कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारी ले लेखेका छन्।
फिल्ममा बन्दे प्रसाद को सम्पादन, रामजी लामिछाने को कोरियोग्राफी, एसडी योगी को संगीत तथा द्वन्द्व निर्देशन श्री श्रेष्ठ को रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ राम्रो चासो बटुलिसकेको यो चलचित्रलाई आरआर फिल्म्स ले वितरण गर्दैछ।


