काठमाडौं । फिल्म ‘परिवर्तन’ को ट्रेलरले छोटो समयमै दर्शकको उल्लेखनीय ध्यान खिचेको छ । गत सोमबार सार्वजनिक गरिएको ट्रेलरले हालसम्म ११ लाख २० हजारभन्दा बढी भ्युज पाइसकेको छ । समाचार तयार पार्दासम्म ट्रेलरलाई करिब १५ हजार लाइक र १ हजार २ सय ३३ कमेन्ट प्राप्त भएका छन् ।
ट्रेलरप्रति अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियामध्ये धेरैले अभिनेता सुशील श्रेष्ठको एक्सन अवतारको प्रशंसा गरेका छन् । एक दर्शक पल साउदले “सुशील श्रेष्ठको एक्सन निकै मन पर्यो, फिल्म सुपरहिट हुन्छ” भन्दै प्रतिक्रिया दिएका छन्, जसलाई सयौँ दर्शकले समर्थन गरेका छन् ।
त्यस्तै, सरोज तिमिल्सेनाले फिल्मका संवाद मन परेको उल्लेख गरेका छन् भने गोपाल खड्काले अभिनेता सुवास मेचेको अभिनयको खुलेर प्रशंसा गरेका छन् । समग्रमा ट्रेलरले दर्शकमाझ राम्रो ‘हाइप’ बनाउन सफल भएको देखिन्छ ।
ट्रेलरप्रति दर्शकको उत्साह देखेर निर्माण टिम पनि खुशी देखिएको छ । ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, दमदार द्वन्द्व दृश्य र पात्रबीचको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । सत्ताको आडमा आम नागरिकमाथि हैकम चलाउने शक्तिको अन्ततः पतन हुन्छ भन्ने सन्देश ट्रेलरमार्फत निर्देशकले दिन खोजेका छन् ।
फिल्ममा सुशील श्रेष्ठ सशक्त एक्सन अवतारमा प्रस्तुत भएका छन् । दर्शकले उनलाई अब एक्सन स्टारका रूपमा स्वीकार गर्न थालेको देखिन्छ । यसै फिल्मबाट अभिनेत्री अञ्जना बराइली प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिएकी छन्, जसलाई उनको फरक र सशक्त भूमिकाका रूपमा हेरिएको छ । सुशील र अञ्जनाबीचको केमेस्ट्री पनि ट्रेलरमा देख्न सकिन्छ ।
दर्शकको सकारात्मक प्रतिक्रियाप्रति प्रतिक्रिया दिँदै अभिनेता सुशील श्रेष्ठले आफू निकै उत्साहित भएको बताए । “अडियन्सको फिडब्याकले झन् उत्साहित बनाइरहेको छ,” उनले भने । अभिनेत्री अञ्जना बराइलीले पनि फरक भूमिकाका कारण उत्साहितसँगै केही नर्भस महसुस भइरहेको बताइन् । “कन्टेन्ट देशको अवस्थासँग जोडिएको भएकाले जिम्मेवारी पनि बढेको छ,” उनले भनिन् ।
ट्रेलरमा सुशील र अञ्जनासँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे लगायत कलाकारलाई पनि देख्न सकिन्छ । निर्देशक विजय केरुङका अनुसार फिल्मले एक्सनसँगै बलियो सामाजिक सन्देश बोकेको छ ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ एक्सन–सस्पेन्स विधामा बनेको हो । फिल्ममा दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको छ भने पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन् । बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।चलचित्र माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । फिल्मको वितरण आरआर फिल्म्सले गरेको हो भने ओएसआर डिजिटल सहकार्यमा रहेको छ ।


