काठमाडौं । लोकप्रिय गायक तथा र्यापर कुशल पोखरेल ले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि तयार पारेको ‘फोन नगर’ बोलको गीत सार्वजनिक गरिएको छ। सुदिप्ताको निर्देशनमा बनेको फिल्मको उक्त गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलो पटक सार्वजनिक गरिएको हो।
आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्मको प्रवर्द्धन उद्देश्यले आयोजना गरिएको कन्सर्टमा कुशलले गीत प्रत्यक्ष रूपमा प्रस्तुत गरेपछि गीतको भिडिओ प्रदर्शन गरिएको थियो। पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलको प्रस्तुति देखेपछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए।
गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ। आधुनिक संगीत शैली र स्रोताको रुचिलाई ध्यानमा राखेर तयार गरिएको गीतको संगीत निर्माण चर्चिल भुसाल ले गरेका हुन् भने मिक्सिङ–मास्टरिङ केपास ले गरेका छन्।
गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन्। झोलेइज्म को निर्देशन, छायाङ्कन र सम्पादनमा बनेको भिडिओमा जेस्टीको कोरियोग्राफी, जेनिश महर्जनको छायाङ्कन र ऋषिक प्रधानको क्रिएटिभ निर्देशन रहेको छ।
कुशल पोखरेलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियताका कारण सहकार्य गर्न तयार भएको बताए। “हाम्रो भाइब मिल्यो। झन्डै सातौँ ड्राफ्टमा पुग्दा शब्दमा सहमति बनेको हो। यो ब्रेकअप स्टोरी भएकाले केटीको दृष्टिकोणबाट गीत तयार गरिएको छ,” उनले भने।
एक वर्षअघिदेखि योजना बनाइएको यो गीतमा काम गर्दा निकै रमाइलो लागेको बताउँदै कुशलले ‘फोन नगर’ ले युवापुस्ताको ब्रेकअपपछिको कथालाई बोलेको उल्लेख गरे।
कन्सर्टमा कुशलसँगै आना शर्मा, समीर श्रेष्ठ, महेश काफ्ले, जेम्सी, हुलाकी लगायत कलाकारले प्रस्तुति दिएका थिए। महेश काफ्लेले ‘जुनीभर’ र समीर श्रेष्ठले ‘तिमी भए काफी’ गीत प्रस्तुत गरेका थिए भने आना शर्माले पर्फर्मरका रूपमा साथ दिएकी थिइन्। निर्माता सागर लम्साल का अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि यस्ता कन्सर्ट आयोजना गरिनेछ।
फिल्म ‘रमिताको पिरती’ ब्रेकअप स्टोरीमा आधारित छ, जसको केन्द्रमा रमिता (आना शर्मा) को भावनात्मक यात्रा प्रस्तुत गरिएको छ। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायत कलाकारको अभिनय छ।
यसै फिल्मको ‘तिमी भए काफी’ गीतको अंश ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ टिकटकमा निकै चर्चामा छ। ‘एड्स योर कलर’ ट्रेण्डसँगै लाखौँ भिडिओ बनिसकेका छन्, जसले राम्रो भ्युज पाएका छन्।
फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल को संगीत रहेको छ। शिशिर विषंखे डीओपी, सुनिल सिवाकोटी सम्पादक, कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, तथा उपत्यका बाहिर एफडी कम्पनी ले वितरण गर्नेछ।


