काठमाडौं । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा समाजमा व्याप्त नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय बोकेका व्यक्तिहरूको चरित्रलाई गीतमार्फत चित्रण गरिएको छ।
नारशी क्रिएसनको प्रस्तुति तथा मिडिया पोर्टको सहकार्यमा ब्रेक स्टेशन नामक युट्युब च्यानलमार्फत र्यापर दिनेश साउदको ‘आक्रमण’ सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा रबिन बोगटीसँगै विकास खनाल, प्रभाकर न्यौपाने, कुँवर सेन्डी, विकास थापा, लाल बहादुर रावतलगायत कलाकारहरूको अभिनय रहेको छ।
यो रबिन बोगटीको निर्देशनतर्फको पहिलो म्युजिक भिडियो भए पनि अभिनयको हिसाबले भने नयाँ होइन। उनले सन् २०२३ मा चलचित्र ‘रंगेली’ मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेका थिए। यसअघि सन् २०१९ मा ‘डियर लभ’ नामक वेब सिरिजमा लेखक तथा अभिनेताको रूपमा काम गरेका थिए।
र्यापर दिनेश साउद (द इन्ड) का लागि ‘आक्रमण’ डेब्यु गीत हो। म्युजिक भिडियोको छायांकन रेवत श्रेष्ठले गरेका हुन्।


