काठमाडौं । आगामी फागुन १ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउने नेपाली चलचित्र **‘श्री बुकुरो : द होम कलिङ’**को पहिलो गीत सार्वजनिक गरिएको छ। बसन्त पञ्चमीको अवसर पारेर शुक्रबार निर्माण कम्पनी फिल्म रेञ्जको अफिसियल युट्युब च्यानलमार्फत गीत रिलिज गरिएको हो।
‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन्। सार्वजनिक गीतमा निर्देशक सिंहकै शब्द रचना, रञ्जीत गजमेरको संगीत तथा शिव परियारको भावुक स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी शहरबाट गाउँ फर्किने यात्राका क्रममा भोग्ने भावनात्मक उतार–चढाव प्रस्तुत गरिएको छ।
सार्वजनिक गीतले दर्शकलाई फरक स्वादसहितको विशुद्ध पारिवारिक कथाको झल्को दिने निर्माण पक्षको विश्वास छ। यस सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता सफल चलचित्र निर्देशन गरेका थिए।
पछिल्लो समय सामाजिक तथा पारिवारिक विषयवस्तुका चलचित्रले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’को विशुद्ध पारिवारिक कथावस्तु पनि दर्शकले मन पराउने निर्देशक सिंहको विश्वास छ। यसअघि सार्वजनिक टिजर र पोस्टरले पनि सकारात्मक प्रतिक्रिया पाइसकेका छन् भने यो गीतले समेत दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक सिंहकै लेखन रहेको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सिनेमामा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ। सिनेमाको छायांकन मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा गरिएको हो।
सिनेमाका सहायक निर्देशकमा किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा रहेका छन्। फिल्मका गीतहरूमा रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिनेछ।


