काठमाडौँ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मैसँग भई राख है’ बोलको गीत दर्शकमाझ ल्याएको हो।
सार्वजनिक गीतको भिडियोमा चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। भिडियोमा उनीहरूको केमेस्ट्री स्वभाविक र आकर्षक देखिन्छ। प्रेम र यात्राको कथामा आधारित गीतले दुई पात्रबीचको आत्मीयता र भावनात्मक सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
देबेन्द्र बब्लुको शब्द, रचना तथा स्वर रहेको गीतमा दीपक शर्मा र एचबीएन किस्मत को सुमधुर संगीत छ।
गीतको भिडियोको सुरुवातमा सिनेमाका मुख्य पात्र देबेन्द्र बब्लु आफ्ना पुराना पदक र तस्बिरहरू नियाल्दै विगतका सम्झनामा हराइरहेको देखिन्छन्। भिडियो अघि बढ्दै जाँदा देबेन्द्र र रोशनी कार्कीबीचको प्रेममय यात्रा सुरु हुन्छ। सुरुमा देखिएको ‘नोस्टाल्जिया’ र अन्त्यमा प्रस्तुत गरिएको भावुक विछोडले दर्शकलाई सोच्न बाध्य बनाउँछ—यी सबै पुराना सम्झनाहरू मात्र हुन् कि वास्तविक पीडा? अभिनेत्री रोशनीको भावुक अभिनय र देबेन्द्रको मौन अभिव्यक्तिले भिडियोलाई अझ सशक्त बनाएको छ।
भिडियोमा बाग्लुङको ढोरपाटन तथा आसपासका क्षेत्रहरूलाई अत्यन्तै सुन्दर ढंगले कैद गरिएको छ। सडक यात्रा, हिउँले ढाकिएका पहाड र स्थानीय बस्तीहरूले भिडियोलाई ‘ट्राभल ब्लग’ जस्तै जीवन्त बनाएका छन्। ड्रोन सटहरूको प्रयोगले नेपालको हिमाली भेगको विशालता र सौन्दर्य उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ।
गायकका रूपमा परिचित देबेन्द्र बब्लुको अभिनय यस गीतमा परिपक्व देखिन्छ। रोशनी कार्कीसँगको उनको जोडी स्वाभाविक र रोमान्टिक देखिएको छ। साना–साना खुसीका पलदेखि अन्त्यको भावुक दृश्यसम्म उनीहरूको अभिनयले दर्शकको मन छोइदिन्छ।
‘बुकी’को यो पहिलो गीतले चलचित्र एक गम्भीर र भावनात्मक प्रेमकथामा आधारित रहेको संकेत गरेको छ।
‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’ को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।चलचित्रको छायांकन काठमाडौं, पोखरा तथा विशेषगरी बाग्लुङको ढोरपाटनलगायत रमणीय स्थानहरूमा गरिएको छ।
लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रकाश आले र राजन केसी हुन्। राजेश थापा र बसुन्धरा खरेल क्रिएटिभ प्रोड्युसर तथा जितु थापा र सुनील बुढाथोकी को–प्रोड्युसरका रूपमा रहेका छन्।
चलचित्रमा विकास गन्दर्भ को छायांकन (डिओपी), भुपेन्द्र अधिकारी को सम्पादन, श्याम मल्ल को श्रृंगार तथा थम्मन थापा को प्रोडक्सन हेडिङ रहेको छ। पब्लिसिटी डिजाइन राकेश दाहाल ले गरेका छन्।हालसम्म प्रदर्शन मिति तय नभए पनि निर्माण पक्षले सन् २०२६ भित्र चलचित्र देशभर प्रदर्शनमा ल्याउने लक्ष्य लिएको छ।


