काठमाडौं , माघ २८
षट्कोण आर्टसको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ आगामी वर्ष वि.सं. २०८३ वैशाख १८ गते प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले प्रदर्शन मिति तय गर्दै चलचित्रको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा चलचित्रका मुख्य पात्रलाई केन्द्रमा राख्दै कथावस्तुको झलक प्रस्तुत गरिएको छ।
बर्दियाको राजापुर क्षेत्रमा छायांकन गरिएको यस चलचित्रमा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी र सरस्वती अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।
यसै चलचित्रमार्फत विशाल देवकोटा र प्रशंसा सुवेदी ले नेपाली चलचित्रमा डेब्यु गर्दैछन्। निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्।
अभिनेत्री स्वस्तिमा खड्काको नियमित भूमिकाभन्दा फरक अवतारका कारण चलचित्रप्रति दर्शकको उत्सुकता बढिरहेको छ। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
चलचित्रमा जेबी रुवाली क्रिएटिभ निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, सुशन प्रजापती छायांकन निर्देशक र मित्रदेव गुरुङ सम्पादक रहेका छन्। त्यसैगरी, रुपकप्रताप अधिकारी प्रोडक्सन हेड, रेनिश फागो कलरिस्ट, समिर श्रेष्ठ र सत्यम राना भिएफएक्स, रोहित शाक्य र शैलेश श्रेष्ठ ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिङमा रहेका छन्।
चलचित्रको कला निर्देशन उमेश चौधरी, कस्ट्युम डिजाइन तथा स्टाइलिङ जानकी कडायत, मेकअप काव्या थापाले गरेका छन् भने सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइबाको रहेको छ।


