तपाईको प्रतिक्रिया
चितवन — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवन क्षेत्र नम्बर ३ की उम्मेदवार रेनु दाहाल ले मनदेखि चाहेर योजनाबद्ध ढंगले अघि बढे विकासका काममा असम्भव भन्ने केही नहुने बताएकी छन्।
घरदैलो अभियानका क्रममा बोल्दै उनले इच्छाशक्ति, स्पष्ट लक्ष्य र निरन्तर प्रयास भए समग्र विकास सम्भव रहेको धारणा व्यक्त गरिन्। उनका अनुसार विकासका लागि राजनीतिक इच्छाशक्ति, पारदर्शिता र जनसहभागिता अपरिहार्य छन्।
दाहालले आफ्नो कार्यकालमा भरतपुर महानगरपालिका मा भएका कामहरू उदाहरणका रूपमा प्रस्तुत गर्दै पूर्वाधार विकास, सडक विस्तार, ढल तथा खानेपानी व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरिन्। “त्यो उदाहरण भरतपुरमा देख्न सक्नुहुन्छ,” उनले भनिन्, “मैले प्रमुख हुँदा गरेका काम भरतपुरवासीले प्रत्यक्ष अनुभूति गर्नुभएको छ।”
उनका अनुसार महानगरमा विकासका योजना जनताको आवश्यकता र सुझावका आधारमा निर्माण गरिएको थियो र पारदर्शिता तथा उत्तरदायित्वलाई विशेष प्राथमिकता दिइएको थियो।
दाहालले भनिन्, “विकास कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन। जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको सहकार्य र विश्वास आवश्यक हुन्छ।” उनले अधुरा रहेका कामलाई निरन्तरता दिनकै लागि चितवन–३ बाट उम्मेदवारी दिएको उल्लेख गरिन्।
“मैले जति पूरा गर्न सक्छु, त्यति मात्र वाचा गर्छु,” उनले भनिन्, “र त्यो वाचा पूरा गर्छु।”
उनले भरतपुर महानगरलाई देशभरबाट घुम्न आउने पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दाबी गर्दै चितवन–३ मात्र नभई समग्र देशका लागि असल जनप्रतिनिधिको आवश्यकता रहेको बताइन्।
