काठमाडौं – आगामी फागुन २९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’ को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ।तीन हजार यौनकर्मीको अनुभव र समस्यामा आधारित कथामा निर्माण भएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ। करिब एक मिनेट लामो टिजरमा रोशनीसँगै सुष्मा निरौला, उषा रजक र जीवन भट्टराई देखिएका छन्।
समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको दृश्यले महिला ऐक्यबद्धताको सन्देश दिन खोजेको आभास हुन्छ। टिजरमा शिशिर वाङ्देल र सबिन कट्टेल लाई पनि समेटिएको छ।
यौनकर्मीको भूमिकामा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण बनेको छ। सुरुवातमा शहरको संघर्षमय परिवेशमा देखिएकी उनी अन्त्यतिर शिशुसहित शहर बाहिर पुगेको दृश्यले पात्रको जीवनका उतार–चढाव र भावनात्मक यात्राको संकेत गर्छ।
फिल्मका लेखक तथा निर्देशक रोशन मिराज हुन्। फेथ आस्था को प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् भने वितरणको जिम्मा नेसनल सिने ग्रुप नेपाल ले लिएको छ।
सामाजिक यथार्थमा आधारित ‘लालिमा’ ले यौनकर्मीहरूको जीवन संघर्ष, मातृत्व र समाजसँगको द्वन्द्वलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ।


