काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’मा समावेश गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर ले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित गीतमा तीनै जनाको नाच सुहाएको देखिन्छ।
गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राई को स्वर रहेको छ भने शब्द तथा संगीत पनि मल्लकै हो। एरेन्ज श्याम श्वेत रसाइली ले गरेका हुन्। गीतको कोरियोग्राफी मिङ्मा डी लेप्चा ले गरेका छन्।निर्माता जनक घर्ती मगर ले फिल्मको कथा अनुसार नै गीत समावेश गरिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन्।
ग्रामीण परिवेश र पहाडी सामाजिक कथामा आधारित फिल्मलाई अनिल बुढा मगर ले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया मगरसहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायत कलाकारको अभिनय रहेको छ। तेरिया मगरको यो डेब्यु फिल्म हो।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका छन् भने छायांकन शिशिर बिशंखेले गरेका छन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।


