चितवन , चैत्र १५– नारायणी नदिमा पौडी खेल्ने क्रममा डुबेर भरतपुरको मुनलाइट बोर्डिङका दुई जना विद्यार्थीको मृत्यु भएको छ । आज (आईतबार) पौडी खेल्न गएका कक्षा ७ मा अध्ययनरत संगम रम्तेल र प्रशान्त क्षेत्रीको मृत्यु भएको हो ।
बिहान स्कुल आएका विद्यार्थीहरु स्कुलबाट साथीको घर जाने भन्दै निस्किएका ३ विद्यार्थी मध्य २ जनाको भरतपुर ३ स्थित नारायणी दोभानमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्कुलका प्रिन्सिपल विकास श्रेष्ठले बताए ।पौडी खेल्न गएका ३ मध्य १ जना भने सकुशल रहेका छन् ।
दुई बालकलाइ उद्दार गरी भरतपुर अस्पताल ल्याइएकोमा दिउँसो २ः४० बजेको समयमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारीले दिए ।
दुवै जना विधार्थी परीक्षा दिन बिहान स्कुल पुगेका थिए । त्यहाँ झोला राखेर कलम किन्न भन्दै दिउँसो १२ः५० बजेको समयमा बाहिर निस्केर पौडी खेल्न नजिकैको नारायणी नदीको भङ्गालोमा पुगेका थिए ।दिउँसो २ बजेको समयमा विपद व्यवस्थापनको टोलीले उनीहरुको उद्दार गरी अस्पताल पुर्याएको थियो ।


