नारायणगढ, चैत ३० गते ।
आमा म त फर्केर आएँ
खरानीबाट उठेर आएँ
कसरी देख्न सक्छु तिम्रो मुटु बलेको
भाइ भाइबिच तरबार चलेको
इतिहास जलेको विश्वास ढलेको …
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रचना, दीपक शर्माको सङ्गीत तथा थानेश्वर गौतम, शान्तिश्री परियार, समीर खरेल, सहिमा श्रेष्ठ र सदीक्षा कट्टेलको स्वर रहेको यो गीत अहिले सामाजिक सञ्जालमा बेजोड चर्चामा (भाइरल) छ ।
गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा भएको क्षतिपछि बिस्तारै उठ्दै गरेको देशको अवस्थालाई चित्रण गर्दै बनाइएको यो गीत भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङको व्यावसायिक जीवनमा पनि मेल खान्छ । आन्दोलनमा क्षति भएका भाटभटेनीका स्टोर खरानीको जगमा पुनर्निर्माण गर्दै सञ्चालनमा ल्याउन सुरु गर्नुभएको छ । आफू पनि खरानीबाट उठ्दै बिस्तारै अघि बढेको गुरुङ बताउनुहुन्छ । “मैले मेरो विश्वास जल्न र ढल्न दिइनँ । त्यसैले बिस्तारै व्यवसायलाई निरन्तरता दिने योजनासाथ अघि बढेको छु,” उहाँले भन्नुभयो, “जे नहुनु थियो भइहाल्योे । केही कमजोरी भए पनि अब त्यो खरानीमै बिलाओस्, अब उप्रान्त राम्रो मात्र होस् ।” उहाँले मानव जीवन एक पटक आउने बताउँदै त्यो जीवनमा केही न केही गर्नुपर्ने आध्यात्मिक धारणा अघि सार्नुभयो ।
हाल ६६ वर्षीय मीनबहादुरले नेपाल बैङ्क लिमिटेडको जागिर छाडेर २०५० सालदेखि भाटभटेनीको थालनी गर्नुभएको हो । काठमाडौँमा सानो तथा खाद्य पसलबाट सुरु भएको उहाँको व्यापार सञ्जाल छोटो समयमै देशैभर फैलियो । तीमध्ये गत भदौ २४ को आन्दोलनमा उहाँको १२ वटा शाखा पूर्णतः नष्ट भए, १६ वटामा लुटपाट भयो ।
त्यसबाट १६ अर्ब रुपियाँभन्दा बढी क्षति भएको भाटभटेनीले जनाउँदै आएको छ । बिमा कम्पनीले दुई अर्ब तीन करोड क्षतिपूर्ति उपलब्ध गराएको भए पनि अरू आफ्नै पहलबाट उठ्दै गर्दा उहाँको अनुहारमा कुनै दुःखभाव देखिँदैन । पुनर्निर्माणमा कति खर्च लाग्यो भन्ने पनि पत्तो नभएको उहाँको प्रतिक्रिया छ ।
“खर्च कति भयो थाहा छैन । खर्च भइरहेको छ त्यो थाहा छ । विदेशबाट समेत सामान आइरहेको छ । सबै क्षेत्रको निर्माणको खर्च जोड्न बाँकी छ,” उहाँले भन्नुभयो । भाटभटेनीले जलेर नष्ट भएका १२ मध्ये चार वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । चितवनको भरतपुरसँगै कोटेश्वर, महाराजगन्ज र बालुवाटारको वेयर हाउस सञ्चालनमा ल्याइएका छन् । अब आठ वटा पनि सञ्चालनमा ल्याउने तयारी छ । व्यवसायलाई समयसापेक्ष परिष्कृत गर्नुपर्ने पनि प्रेरक कुरा छ । उहाँले भन्नुभयो, “नोकियाको एकछत्र राज्य थियो । उसले अद्यावधिक गरेन तर सामसुङले समय बुझेर अद्यावधिक ग¥यो र अहिले एकछत्र राज्य गरिरहेको छ । यो कुरा बुझेर नै भाटभटेनीलाई समयसापेक्ष अद्यावधिक गर्दै छौँ ।”
यसरी उठ्दा अब सरकारले व्यावसायिक प्रतिष्ठानको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले ‘पहिलो नम्बर सुरक्षा नै हो । सुरक्षा राज्यले दिनैपर्छ । लगानीकर्तामा आत्मविश्वास बढाउन सक्नु पर्छ’ भन्नुभयो । “सबैभन्दा ठुलो दान क्षमादान हो । म मेरा भाटभटेनीमा आगो लगाउनेलाई क्षमादान दिन्छु,” उहाँले भन्नुभयो । विगतका विकृति विसङ्गति सबै जलेर जाऊन् भनेर नै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएका भवनमा पहिले जलेको भवनका फोटामा गुरुङले नमस्कार गरेको तस्बिरसँगै लेखिएको हुन्छ, “हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।”वसन्त पराजुली


