जेठ १४, चितवन ।भरतपुर महानगरपालिकाका ५ का नवनिर्वाचित वडाध्यक्ष युद्ध प्रसाद श्रेष्ठले पदभार ग्रहण गरेका छन् । बिहीबार श्रेष्ठसहित वडाका सम्पूर्ण जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् ।
पदभारपछि भरतपुर ५ ले वडाबासीहरुलाई डायलायसिसका लागि यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको छ । वडाका मृगौला पीडितहरु पटक-पटक डायलायसिसका लागि अस्पातल धाउनु पर्ने भएकोले यातायात खर्च बापत एक हजार रुपैयाँ दिने निर्णय गरिएको हो ।
यस्तै वडा भित्रै रहेका बैंकका शाखा कार्यालयहरुबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको निर्णय पनि भएको छ । जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई भत्ताका लागि नारायणगढ नै धानुपर्ने बाध्यता अन्त्यका लागि यस्तो निर्णय गरिएको नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले बताए ।
उनका अनुसार वडामा करिब आठ सय ३५ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । अध्यक्ष श्रेष्ठले वडामार्फत नागरिकले पाउने हरेक सुविधा चुस्तदुरुस्त र सुशासन प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निर्वाचित खट्ने सम्पूर्ण टिमलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।


