काठमाडौं । नेपाली चलचित्र ‘रोल नं १’ले आफ्नो टाइटल गीतमार्फत दर्शकमाझ फरक सन्देश दिन खोजेको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रको शीर्ष गीत सार्वजनिक भएसँगै यसको कथावस्तु र उद्देश्यबारे चर्चा सुरु भएको हो।
गीतमा गायक तथा सङ्गीतकार प्रशान्त शिवाकोटीको शब्द, सङ्गीत र स्वर रहेको छ। गीतले नेपाली शिक्षा प्रणालीमा जरा गाडेको ‘र्याङ्किङ’ संस्कृतिलाई प्रश्न गर्दै बालबालिकामाथि पर्ने मानसिक दबाबलाई उजागर गरेको छ।
विशेष गरी ग्रामीण परिवेशका विद्यार्थीको जीवनलाई केन्द्रमा राखिएको गीतमा एक बालकको संघर्षपूर्ण कथा प्रस्तुत गरिएको छ। पढाइको चाप र समाजको अपेक्षाबीच उसको बाल्यकाल कसरी सीमित हुन्छ भन्ने पक्षलाई भावनात्मक ढंगले चित्रण गरिएको छ। ‘पहिलो हुने विद्यार्थी मात्रै सक्षम’ भन्ने सोचमाथि गीतले कडा व्यङ्ग्य गरेको देखिन्छ।
भिडियोमा हिमाली क्षेत्रको सुन्दर दृश्यसँगै ग्रामीण विद्यालयको यथार्थ झल्काइएको छ। मैनबत्तीको उज्यालोमा राति अबेरसम्म पढ्न बाध्य बालक र खेल्न पाउने चाहना दुवैलाई सन्तुलित रूपमा देखाइएको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।
निर्देशक जोन योञ्जनले तयार पारेको यो चलचित्र ‘हरेक विद्यार्थीको कथा’ भन्ने नारासहित निर्माण गरिएको हो। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् भने बाल कलाकारहरूको पनि महत्वपूर्ण उपस्थिति रहेको छ।
विनोद पौडेल र जान्वी पौडेलले निर्माण गरेको ‘रोल नं १’ आगामी जेठ १५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण पक्षका अनुसार चलचित्रलाई नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि एकसाथ प्रदर्शन गर्ने योजना बनाइएको छ।
सार्वजनिक गीतले उठाएको विषयवस्तुले दर्शकमाझ बहस सिर्जना गर्ने संकेत देखिएको छ, जसले चलचित्रप्रति उत्सुकता अझै बढाएको छ।


