काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मितज्यू’ को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्याैपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको प्रेमभावलाई चित्रण गरेको छ। “टाढा भइस नभन त कहिले, तिमीसँगै छु सानु म जहिले” भन्ने भाव गीतमा समेटिएको छ।
गीतमा श्रीकृष्ण बम मल्लको शब्द तथा संगीत रहेको छ भने स्वरमा पनि उनकै साथमा लक्ष्मी मल्लले गायन गरेकी छन्। निङ्मा डी लेप्चाको कोरियोग्राफीमा कलाकारहरूले दोहोरी साँझको परिवेशमा आकर्षक प्रस्तुति दिएका छन्।
ग्रामीण परिवेशमा आधारित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगरसहित विभिन्न कलाकारहरूको अभिनय रहेको छ। यसै फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा जनक घर्ती मगरको लगानी रहेको छ। यसअघि सार्वजनिक गीत ‘गैराघरे काँइली’ पनि दर्शकमाझ लोकप्रिय बनेको थियो।


