काठमाडौं । चलचित्र ‘रोल नं १’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले युट्युबमार्फत सार्वजनिक गरेको टिजरले सामाजिक यथार्थ र विद्यार्थी जीवनको पीडादायी पक्षलाई प्रस्तुत गरेको छ।
टिजरमा गरिब परिवारका बालबालिकाले भोग्नुपरेको शैक्षिक संघर्षलाई केन्द्रमा राखिएको छ। छात्रवृत्तिमा निर्भर रहनुपर्ने बाध्यता र त्यसबाट वञ्चित हुँदा उत्पन्न हुने निराशालाई भावनात्मक ढंगले चित्रण गरिएको छ। बाबुले आफ्ना सपनाहरू त्यागेर छोराको भविष्यमा लगानी गर्ने तर परिस्थितिका कारण ती सपना अधुरा रहने अवस्थालाई टिजरले देखाएको छ।
शैक्षिक प्रणालीभित्र रहेको प्रतिस्पर्धा र ‘पहिलो हुनैपर्ने’ दबाबले निम्न वर्गका विद्यार्थीहरू कसरी अवसरबाट टाढा भइरहेका छन् भन्ने सन्देश पनि टिजरमार्फत प्रस्तुत गरिएको छ। यसले बालमनोविज्ञानमा पर्ने असरलाई समेत उजागर गर्ने संकेत गरेको छ।
जोन योञ्जनको निर्देशनमा बनेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। साथै बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
विनोद पौडेल र जान्वी पौडेल निर्माताको रूपमा रहेका यस चलचित्रको कथा महेश दवाडीले लेखेका हुन्। म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहेको छ।


