काठमाडौं — गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले दर्शकमाझ राम्रो चर्चा पाइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘बिरही बतास’ सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक गरिएको यस गीतमा स्वरूपराज आचार्यको स्वर, सुरेन्द्र रानाको शब्द र सत्य–स्वरूपको संगीत रहेको छ।
युट्युबमार्फत सार्वजनिक गरिएको गीतले फिल्मको प्रचारप्रसारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ। ‘बिरही बतास’ले फिल्मको भावनात्मक पक्षलाई अझ गहिरो बनाउँदै दर्शकको मन छुने विश्वास निर्माण टिमले लिएको छ। गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ किशोर थापाले सम्हालेका छन्।
फिल्ममा प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल र सिर्जना अधिकारी मुख्य भूमिकामा देखिएका छन्। साथै शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र मञ्जिल बानियाँको पनि अभिनय रहेको छ।
हरिओम सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्माण गरिएको फिल्मले प्रदर्शनको नवौं दिनसम्म ३ करोडभन्दा बढी कमाई गर्न सफल भएको छ। निर्माता पोखरेलका अनुसार फिल्मले ९ दिनमा करिब ३ करोड १३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।


