काठमाडौं — जेठ १५ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’को निर्माण टिम प्रचारका लागि मोफसल दौडाहामा निस्किएको छ। पहिलो चरणमा टिम पूर्वी नेपालका झापा, मोरङ र सुनसरी पुगेको छ।
‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा…’ भन्ने स्लोगनसहित टिमले विद्यालयमै पुगेर विद्यार्थीसँग प्रत्यक्ष संवाद सुरु गरेको छ। फिल्मको मूल विषय ‘हरेक विद्यार्थीको कथा’ भएकाले प्रचारलाई पनि कक्षाकोठामै केन्द्रित गरिएको निर्माण पक्षले जनाएको छ।
अन्तरक्रियामा मुकुन भुसाल, रेणु योगी, प्रशान्त शिवाकोटी र कर्मा लामा सहभागी छन्। उनीहरूले फिल्मबारे जानकारी दिँदै विद्यार्थीका अनुभव र भावनाहरू पनि सुन्न थालेका छन्।
निर्माता विनोद पौडेलका अनुसार फिल्मले विद्यार्थीको मनोविज्ञान, अहिलेको शैक्षिक प्रणालीका चुनौती र त्यसले जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखेको छ। “गलत शैक्षिक अभ्यासले विद्यार्थीमा पर्ने नकारात्मक असर देखाउने प्रयास गरेका छौँ,” उनले भने।
जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसालसँगै सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ।
महेश दवाडीको लेखन रहेको फिल्म म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको हो। प्राविधिक पक्षमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक र मदन घिमिरेको सम्पादन रहेको छ।
निर्माण टिमका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गरिनेछ। फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमा मार्फत हुने बताइएको छ।


