काठमाडौं — गीतकार रामेश्वर के.सी. का शब्द तथा गायिका एवं संगीतकार बबिना भट्टराई को एकल स्वर र संगीत रहेको गीति एल्बम आरम्भसार्वजनिक गरिएको छ ।
शनिबार नक्सालस्थित लिसारा रिसेप्सन मा आयोजित विशेष समारोहबीच नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा एल्बम लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यकार वियोगी बुढाथोकी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगीतकार राजु सिंह, गीतकार संघ नेपाल का अध्यक्ष बसन्त वित्यासी थापा लगायत स्रष्टा तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले गीतकार रामेश्वर के.सी. का शब्द तथा बबिना भट्टराई को गायन र संगीतको खुलेर प्रशंसा गरेका थिए । लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बबिनाले आधुनिक, गजल, भजन, लोक तथा बालगीतमा आफ्नो स्वर र संगीत दिँदै आएकी छन् ।
कार्यक्रमका क्रममा एल्बममा समावेश तीनवटा म्युजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो । ‘आरम्भ’ मा समावेश पाँचवटै गीतका भिडियोहरू बबिना भट्टराई युटुब च्यानलमा हेर्न सकिने जनाइएको छ ।


