काठमाडौं — आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र काजीको ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले पारिवारिक सम्बन्ध, प्रेम र वैवाहिक जीवनका उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
सार्वजनिक ट्रेलरमा विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रमा देखिएका छन् । विवाहपछिको प्रेम, सम्बन्धमा आउने संघर्ष र भावनात्मक यात्रालाई ट्रेलरले आकर्षक रूपमा चित्रण गरेको छ । ट्रेलरमा समावेश संवाद, दृश्य संयोजन र प्रस्तुति शैलीले दर्शकमाझ फिल्मप्रति उत्सुकता बढाएको छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन कार्की र केकी अधिकारी सँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धीसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दिक्षिता अर्यालको अभिनय रहेको छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटा को संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।
फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले रहेका छन् भने निर्माता नेहान रिजाल र विकास राज जोशी हुन् । श्रीराम बालाजी फिल्मस् ले फिल्मलाई देशभर वितरण गर्नेछ ।
यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यू र ‘वारि बर, पारी पीपलु’ बोलको गीतले दर्शकको सकारात्मक प्रतिक्रिया पाइसकेको छ । ट्रेलर सार्वजनिक भएसँगै अब फिल्मप्रतिको प्रतीक्षा अझ बढ्ने देखिएको छ ।


