चितवन , जेठ ०२ । नेपाल प्रहरी संगठनमा व्यापक प्रशासनिक हेरफेर गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार देशभरका ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गर्दै विभिन्न जिल्लाको नेतृत्व परिवर्तन गरेको हो।
यस सरुवाअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीलाई नयाँ जिम्मेवारीसहित प्रदेशस्तरीय अपराध अनुसन्धान शाखातर्फ पठाइएको छ। हाल उनी काजस्वरूप प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने व्यवस्था गरिएको छ।
चितवन प्रहरीको नेतृत्व अब एसपी रामेश्वर पौडेलले सम्हाल्ने भएका छन्। यसअघि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको तालिम शाखामा कार्यरत थिए।
त्यसैगरी, चितवनमा कार्यरत डीएसपी रविन्द्र खनालको पनि सरुवा गरिएको छ भने उनको स्थानमा डीएसपी चन्द्र भूषण यादव आउने भएका छन्।
प्रहरी संगठनभित्र नियमित कार्यसम्पादन, प्रशासनिक सन्तुलन र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यो निर्णयसँगै चितवनसहित देशभरका विभिन्न जिल्लामा सुरक्षा नेतृत्वको नयाँ संरचना तयार भएको छ, जसले स्थानीय सुरक्षा रणनीतिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।


