काठमाडौं । युवा चलचित्र निर्देशक सुमन दाहालले आफ्नी आमाको जन्मदिनको अवसर पारेर भावुक म्युजिक भिडियो ‘आमा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसोबास गर्दै आएका दाहालले आमाप्रतिको प्रेम, सम्मान र कृतज्ञतालाई संगीत र दृश्यमार्फत अभिव्यक्त गर्दै विशेष उपहारस्वरूप भिडियो सार्वजनिक गरेका हुन् ।
‘आमा’ केवल एउटा म्युजिक भिडियो नभई छोराले आमाप्रति राखेको अथाह माया र समर्पणको भावनात्मक प्रस्तुति बनेको छ । भिडियोमा आमाको त्याग, संघर्ष, ममता र परिवारप्रतिको निस्वार्थ प्रेमलाई अत्यन्त मार्मिक ढंगले चित्रण गरिएको छ ।
विशेष कुरा के छ भने, भिडियोमा अधिकांश कलाकार सुमनकै परिवारका सदस्य रहेका छन् । आमाको भूमिकामा तुलसीदेवी दाहाल देखिएकी छन् भने मन्दिरा दाहाल, भुवन लोहानी, गरिमा पाण्डे, सम्राट दाहाल, सुजिता सिटौला लगायतले अभिनय गरेका छन् । बाल कलाकारहरू समीर दाहाल, साया भण्डारी, सावन लोहानी, अर्भी सुवेदी र अश्वत खनालले भिडियोलाई अझ जीवन्त बनाएका छन् ।
गीतका शब्द स्वयं सुमन दाहालले लेखेका हुन् । भिडियो निर्देशनसमेत उनले नै गरेका छन् । गीतमा प्रमोद खरेल र समीक्षा अधिकारी को स्वर रहेको छ भने संगीत वसन्त सापकोटा ले दिएका छन् ।
राजु कार्कीको संगीत संयोजन, ज्ञानेन्द्र गिरीको रेकर्डिङ, प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीत ड्रिम्स स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोको छायांकन राजु केसीले गरेका छन् भने सम्पादन भूपेन्द्र अधिकारी, रंग संयोजन रेनिस फागो, मेकअप सिर्जा अधिकारी र पोस्टर डिजाइन नहाकुल खड्काले गरेका छन् । भिडियोको पोस्ट–प्रोडक्सन किन्डल सिने स्टुडियोमा गरिएको निर्माण टिमले जनाएको छ ।
निर्देशक दाहालले आमाको जन्मदिनलाई केवल औपचारिक शुभकामनामा सीमित नराखी आफ्नो सिर्जनात्मक माध्यमबाट अविस्मरणीय बनाउने प्रयास गरेको बताएका छन् । उनका अनुसार ‘आमा’ हरेक सन्तानले आफ्नी आमाप्रति व्यक्त गर्न चाहेको भावनाको प्रतिनिधित्व गर्ने गीत हो ।


