भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१० स्थित छ लेन सडकमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो करिब २:५५ बजे लु.प्र.०१–००१ च ३४८९ नम्बरको बलेरोले ना ३६ प ९४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–१२ निवासी ४० वर्षीय रमेश पाण्डेलाई उपचारका लागि भरतपुरस्थित पुष्पाञ्जली अस्पताल लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा संलग्न बलेरो र चालक कपिलवस्तुको जयनगर नगरपालिका–२ निवासी २६ वर्षीय सागर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय चितवनले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया



