काठमाडौं । आयंका फिल्म्सको प्रस्तुति रहेको पहिलो नेपाली चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक गरिएको छ। केही दिनअघि सार्वजनिक पोस्टरले दर्शकमाझ कथावस्तुबारे उत्सुकता जगाएको थियो भने नयाँ टिजरले आमा–छोरीको भावनात्मक सम्बन्ध र छोरीको सुरक्षाका लागि आमाले गर्ने संघर्षलाई थप स्पष्ट रूपमा प्रस्तुत गरेको छ।
एक रहस्यमय लासबाट सुरु हुने टिजरमा ‘छोरीको सुरक्षाभन्दा ठूलो अरू केही छैन’ भन्ने संवादले चलचित्रको मूल कथालाई संकेत गर्छ। क्राइम थ्रिलर र पारिवारिक ड्रामाको मिश्रण रहेको चलचित्रमा आफ्नी छोरीलाई जोगाउन एउटी आमा कति टाढासम्म जान सक्छिन् भन्ने कथा प्रस्तुत गरिएको देखिन्छ।
टिजरमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले र रक्षा थापालगायत कलाकारहरूको दमदार उपस्थिती देख्न सकिन्छ। टिजरमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ र मुकेश शाहको साउन्ड मिक्सिङ रहेको छ।
सुवेन्दु घोषको निर्देशनमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार कार्यकारी निर्माता रहेका छन्। भारतीय प्राविधिक टोलीको समेत सहभागिता रहेको चलचित्रको पोस्ट–प्रोडक्सन नेपाल र भारत दुवै स्थानमा भइरहेको छ।
चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको संयुक्त सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन, राजा सिंह सिदुको सम्पादन, रोहित शाक्यको संगीत तथा त्रिशाला गुरुङको स्वर रहेको चलचित्रको पोस्टर डिजाइन र पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) हो।



