काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले प्रेम, विश्वास, धोका, विछोड र त्यसपछिको संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। निर्देशक राजबहादुर सानेले दुई प्रेमिल जोडीको जीवनमार्फत प्रेम सम्बन्धमा आउने उतारचढाव, सामाजिक दबाब र पारिवारिक परिस्थितिलाई कथाको केन्द्रमा राखेका छन्।
चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। सुरुमा खुसी र आत्मीयताले भरिएको उनीहरूको सम्बन्ध समयसँगै विभिन्न चुनौती, अभाव र परिस्थितिका कारण जटिल मोडमा पुग्ने संकेत ट्रेलरले दिएको छ।
निर्देशक सानेका अनुसार चलचित्रले प्रेममा आउने संघर्ष, सम्बन्धको परीक्षा र जीवनका यथार्थ पक्षलाई संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ।
चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।
चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ।


