जेठ २५ , चितवन । भरतपुर महानगरपालिका ८ स्थित अशोकचोकदेखि डेरीचोकसम्मको सडक स्तरोन्नती गरिने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डेरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार विहान एक कार्यक्रमका बीच सो सडकको शिलान्यास गरेकी छन् । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ६ करोड ८५ लाख ४३ हजार ६ सय २८ रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख वीरेन्द्र कुमार चौधरीले जानकारी दिए। ओम सत्यसाई कन्ट्रक्सन प्रालि भरतपुर–९ ले निर्माण गर्ने सडक ७ मिटर चौडा हुनेछ ।
२०८० साल मंसिरमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख चौधरीले बताए। यसअघि हाकिमचोकदेखि अशोकचोकसम्मको ३ दशमलव ८ किलोमिटर सडक भरतपुर महानगरपालिले निर्माण गरिसकेको छ ।


