काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्माण टिमले चलचित्रको म्युजिकल ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले सन्तान हराएपछि पीडामा परेकी आमाको संघर्ष, गाउँभर फैलिएको निराशा र जंगली हात्तीको त्रासमा बाँच्न बाध्य समुदायको जीवनलाई भावुक ढंगले प्रस्तुत गरेको छ। ट्रेलरभरि हात्तीको आतंकको प्रभाव देखिए पनि हात्तीलाई भने प्रत्यक्ष रूपमा देखाइएको छैन, जसले कथाप्रतिको रहस्यलाई अझ गाढा बनाएको छ।
हराएकी छोरी अप्सराको खोजीका लागि प्रहरीसँग गरिएको आग्रह, आफन्तकै शंकाको घेरामा परेकी आमाको संघर्ष र गाउँलेहरूको असहाय अवस्थालाई ट्रेलरले सशक्त रूपमा चित्रण गरेको छ। ट्रेलरमा समावेश गरिएको भोजपुरी लयबाट प्रभावित गीत, त्यसको आकर्षक संगीत तथा तेस्रोलिंगी समुदायको नृत्यले दृश्यलाई थप प्रभावशाली बनाएको छ।
यस्तै, केही व्यक्तिलाई बलि चढाउन लागिएको जस्तो देखिने दृश्यहरूले कथामा थप रहस्य र सस्पेन्स सिर्जना गरेका छन्।
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रकै इतिहासमा उल्लेखनीय सफलता हासिल गरेको ‘तिनीहरू: इलिफेन्ट्स इन द फग’ अहिले नेपाली दर्शकमाझ पनि बहुप्रतीक्षित बनेको छ। निर्देशक अविनाश विक्रम शाहले निर्देशन गरेको यस चलचित्रले कान्समा जुरी च्वाइस अवार्ड समेत जितेको थियो।
जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनकथामा आधारित चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको यस चलचित्रका नेपालका निर्माता अनुप पौडेल हुन्। फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्। सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन्।
चलचित्रका लाइन प्रोड्युसर चार्ल्स अडिनेट हुन् भने एसोसिएट निर्मातामा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी रहेका छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता छन् भने आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एसोसिएट निर्माताको भूमिकामा छन्।
चलचित्रको कथा अविनाश विक्रम शाह र सन्दीप बादलले तयार पारेका हुन् भने पटकथा पनि शाहकै रहेको छ। सार्वजनिक म्युजिकल ट्रेलरमा समावेश गीतमा लव कर्णको शब्द, शिवानी भगत र देव अहिररावको स्वर रहेको छ।
यसअघि आफ्नो लघु चलचित्र ‘लोरी’बाट कान्समा पुरस्कार जितिसकेका निर्देशक अविनाश विक्रम शाह ‘कालो पोथी’, ‘शाम्बाला’ तथा चर्चित सिरिज ‘सिंहदरबार’का पटकथाकारका रूपमा समेत परिचित छन्।


