काठमाडौं । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रालाई पर्दामा उतारिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक भएको छ।
५० वर्ष उमेर पार गरेका एक व्यक्तिले आफ्नो उमेर र शारीरिक सीमिततालाई चुनौती दिँदै सगरमाथा आरोहण गर्ने देखेको सपनालाई केन्द्रमा राखिएको ५० मिनेट लामो वृत्तचित्रले हिमालको सौन्दर्यसँगै आरोहणका क्रममा आइपर्ने जोखिम, शेर्पा समुदायको संघर्ष तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावलाई समेत प्रस्तुत गरेको छ।
निर्माण पक्षका अनुसार वृत्तचित्रमा शतप्रतिशत नेपाली प्राविधिकको सीप प्रयोग गरिएको छ भने कुनै पनि कृत्रिम दृश्य समावेश गरिएको छैन। समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्मको यथार्थ यात्रालाई समेटिएको यो सगरमाथासम्बन्धी पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
सामाजिक संस्था ‘वि विल राइज फाउन्डेसन’को निर्माणमा तयार भएको वृत्तचित्रलाई निर्मल श्रेष्ठले निर्देशन गरेका हुन्। दुई वर्ष लामो अनुसन्धान र छायांकनपछि तयार भएको यस परियोजनाको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन्। वृत्तचित्रमा वरिष्ठ सञ्चारकर्मी भूषण दाहालको भ्वाइसओभर सुन्न सकिनेछ।
वृत्तचित्रमा १८ पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा तथा विश्वका १४ वटै अग्ला हिमशिखरसहित १० पटक सगरमाथाको सफल आरोहण गरेका निमा ग्याल्जेन शेर्पाको संघर्ष र अनुभवलाई समेटिएको छ। यस यात्राका महत्वपूर्ण पात्रका रूपमा विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक श्रेष्ठ स्वयं पनि प्रस्तुत छन्।
नेपाली र अंग्रेजी दुवै भाषामा तयार पारिएको ‘रोड टु एभरेस्ट’ले नेपालको पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याउने लक्ष्य राखेको निर्माण पक्षले जनाएको छ।
वृत्तचित्रको पहिलो नेपाल प्रिमियर आगामी भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा आयोजना हुनेछ। त्यसपछि भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गर्ने तयारी गरिएको छ। त्यसपछि स्वदेश तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चमा वृत्तचित्र प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ।
सार्वजनिक पोस्टर र टिजरले सगरमाथा यात्राको जोखिम, भावनात्मक उतारचढाव र मानवीय साहसको झल्को प्रस्तुत गरेको छ। सगरमाथालाई केवल हिमालका रूपमा नभई साहस, अठोट र सपनाको प्रतीकका रूपमा प्रस्तुत गर्नु वृत्तचित्रको मुख्य उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ।


