काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले चलचित्रले लाहुरे समाज, पारिवारिक सम्बन्ध र मानवीय भावनालाई कथाको केन्द्रमा राखेको संकेत गरेको छ।
टिजरमा दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको नाम नभई आफूले कहिल्यै नसुनेकी र नचिनेकी बाबुको पहिलो पत्नीको नाम उल्लेख भएको विषयलाई मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरिएको छ। उक्त महिलाको नाम पत्ता लगाउने क्रममा परिवारले भोग्नुपर्ने जटिलता र त्यसबाट उत्पन्न हुने भावनात्मक परिस्थितिलाई टिजरमा देखाइएको छ।
चलचित्रले लाहुरे जीवनबाट अवकाश लिएपछि समाज र परिवारसँग जोडिएर बाँचिरहेका पात्रहरूको सम्बन्ध, संघर्ष र भावनात्मक उतारचढावलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
‘पेन्सन पट्टा’मा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनिल थापा, लुनिभा तुलाधर, सुरज तमु, राज कौछा मगर, यासिली योख्खा, डीबी गुरुङ, प्रतीक्षा गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुषा राई र कुबिना गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन माओत्से गुरुङकै हो। चलचित्र आगामी भदौ २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।


