चितवन । भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटेको बाघको आक्रमणबाट मृत्यु भएको छ।
मंगले बोटे बुधबार बिहान करिब ५ बजे सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँग मर्निङवाकमा निस्किएका थिए। मर्निङवाकका क्रममा बाघ देखिएपछि मंगले सम्पर्कविहीन भएको जानकारी प्रहरीलाई बिहान करिब ८ बजे प्राप्त भएको थियो।
सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको समन्वयमा हात्तीको सहयोग लिएर उनको खोजी सुरु गरिएको थियो।
खोजीका क्रममा दिउँसो करिब ४ः२० बजे घटनास्थलबाट ४–५ किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको शव मंगले बोटेको भएको उनका छोराले सनाखत गरेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। वन क्षेत्रमा बाघको गतिविधि र घटनाको अवस्थाबारे समेत सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।


