काठमाडौं । गायक तथा संगीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ। प्रेमिल भावमा तयार पारिएको गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन्।
गीतको भिडियोमा एकतर्फी प्रेमको कथा प्रस्तुत गरिएको छ। खुसीको प्रेममा परेका गौरवले आफ्नो प्रेम प्राप्त गर्न आफूमा परिवर्तन ल्याउने प्रयास गरेको देखाइएको छ। प्रेमको पर्खाइमा रहेका गौरवले अन्ततः आफ्नो प्रेम पाउँछन् वा पाउँदैनन् भन्ने विषयलाई कथाकार शान बस्न्यातले भिडियोमार्फत प्रस्तुत गरेका छन्।
अस्मिता रुचालको शब्दमा प्रकाश सिलवालले स्वर तथा संगीत दिएका हुन्। प्रेमले मानिसको जीवनमा ल्याउने प्रभाव र परिवर्तनलाई गीत तथा भिडियोमा भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
भिडियोमा प्रेमीको भूमिकामा देखिएका गौरवले आफ्नो चरित्रलाई जीवन्त बनाउन प्रयास गरेको बताएका छन्। उनका अनुसार आफ्नो पात्र प्रेमका लागि आफूलाई परिवर्तन गर्न सक्ने, प्रतीक्षा गर्न सक्ने र आफूले माया गरेको व्यक्तिको खुसीमा रमाउन सक्ने प्रेमीका रूपमा प्रस्तुत गरिएको छ।
घामपानी पिक्चर्स प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोका निर्माता शान बस्न्यात हुन्। उनले नै भिडियोको कथा तथा पटकथा लेखेका हुन्।
गौरव र खुसीसँगै भिडियोमा सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा ‘चरी’, युवक लामा ‘घाइते’, कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने र सुजाता तिमल्सिनालगायत कलाकारको अभिनय रहेको छ।
प्रणव केसीको निर्देशनमा बनेको भिडियोमा संगम राईको छायांकन, अञ्जली रिजालको स्टाइलिङ, ज्योति केसीको मेकअप, अलिजा सिजावालको हेयर तथा देव न्यौपानेको साउन्ड रहेको छ। गीतको भिडियो प्रकाश सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


