काठमाडौं । गायिका नीशा सुनारले नयाँ गीत ‘झ्याप छौं कि साइँला दाई’ सार्वजनिक गरेकी छन्। लामो समयदेखि अमेरिकामा बस्दै आएकी नीशाले नेपाल आएको अवसरमा रमाइलो शैलीको यो गीत दर्शकमाझ ल्याएकी हुन्।
गीतमा नीशा सुनार र खेम सेन्चुरीको स्वर रहेको छ। रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अभिनेत्री उषा उप्रेती फिचर्ड छन्। भिडियोमा उनीहरूलाई रोमान्टिक तथा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
सुनिल बीकेको निर्देशनमा तयार भएको भिडियोमा अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन, राजेन्द्र मोक्तानको कलरिङ र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ।
नीशाले केही दिनमै आफ्नै स्वरमा नयाँ तीज गीतसमेत सार्वजनिक गर्ने तयारी गरेकी छन्। कुनै समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय रहेकी नीशाले अब गायनलाई निरन्तरता दिने बताएकी छन्।


