काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक भएको छ। पहिलो गीत ‘दिलमा ठाउँ छ’ युट्युबमा १ करोड भ्यूजको नजिक पुगिरहेका बेला निर्माण पक्षले दर्शकमाझ नयाँ रोमान्टिक गीत ल्याएको हो।
सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ। गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन्।
‘म भईन भने’को भिडियो भारतका चर्चित पर्यटकीय गन्तव्य दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो। उत्सव दाहालको छायांकन र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा मुख्य कलाकार पारस बम ठकुरी ‘कुल ब्वाइ’ र दिव्या रायमाझीलाई प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको छ।
कथाको भाव र दृश्यको आवश्यकतालाई ध्यानमा राख्दै गीत छायांकनका लागि दार्जिलिङ, मिरिक र सिक्किम रोजिएको प्रस्तुतकर्ता अर्जुन पोखरेलले बताएका छन्।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शङ्कर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर रहेका छन्।
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना सहायक निर्देशक छन्।
यमप्रसाद ओली प्रोडक्सन हेड रहेको ‘बेहुली’मा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप तथा एलेक्स बासुकलाको पहिरन डिजाइन रहेको छ। चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।


