काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ। भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको प्रचारलाई तीव्रता दिँदै निर्माण पक्षले तीजको अवसर पारेर गीत सार्वजनिक गरेको हो।
शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ। लोक स्वाद मिसाइएको गीतले पछिल्लो समय तीज पर्वमा बढ्दै गएको देखासिकी र अनावश्यक प्रतिस्पर्धालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ।
अरूले लगाएको जस्तै लुगा र गहना आफूले पनि लगाउनुपर्ने मानसिकता तथा त्यसका लागि श्रीमान्सँग जसरी पनि माग पूरा गराउने प्रवृत्तिलाई गीतको कथ्यमा समेटिएको छ। रमाइलो नृत्यप्रधान शैलीमा तयार पारिएको भिडियोमा श्रीमान्–श्रीमतीबीचको सम्बन्ध र उनीहरूबीच हुने संवादलाई पनि प्रस्तुत गरिएको छ।
गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका प्रमुख कलाकारसँगै दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन्। भिडियोमा ठूलो संख्यामा कोरस कलाकारको समेत प्रयोग गरिएको छ।
‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन्। लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहारी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता रहेको चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्। चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र नेपाली परिवेशलाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।
सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त शिवाकोटी संगीतकार, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप आर्टिस्ट तथा चुडामणी (सीएम) प्रोडक्सनमा रहेका छन्।
आठ वर्षपछि निर्देशनमा फर्किएकी रेखा थापाको चलचित्र ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएका छन्।


