काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘आचार्य’को टिजर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक टिजरमा निखिललाई आक्रामक र शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
टिजरमा हेलिकप्टरबाट हाम फाल्ने, प्याराग्लाइडिङ गर्ने, तीव्र गतिमा कार तथा बाइक चलाउनेलगायतका रोमाञ्चक स्टन्ट समेटिएका छन्। टिजरले चलचित्रमा एक्सन र द्वन्द्वका दृश्यलाई विशेष प्राथमिकता दिइएको संकेत गर्छ।
चलचित्रमा निखिललाई विभिन्न लुक्समा देख्न सकिन्छ। लामो कपाल र दाह्रीसहितको रफ अवतारदेखि सेतो पहिरनमा आध्यात्मिक व्यक्तित्वसम्मको उनको फरक स्वरूप टिजरमा प्रस्तुत गरिएको छ।
‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु र टिजरमा समावेश संवादले चलचित्रको कथावस्तु सामाजिक न्याय तथा अधर्मविरुद्धको संघर्षसँग जोडिएको अनुमान गर्न सकिन्छ।
निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको एक्सन निर्देशन शुक्रराज शाहले गरेका छन् भने कृष्ण भट्टराई निर्माता हुन्। चलचित्रमा निखिल उप्रेतीको अभिनयसँगै उनको निर्देशनसमेत रहेको छ।
‘आचार्य’ असोज ९ गते अर्थात् सेप्टेम्बर २५ देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।


