भरतपुर । विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्नेहरूमाथि कडा निगरानी राख्दै तत्काल पक्राउ गर्ने नीति चितवन प्रहरीले अघि बढाएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट कानको सुनको मुन्द्रा तान्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।
२०८३ भदौ १० गते तिब्बतबाट आएको भीषण पहिरोसहितको बाढीले बगाएर ल्याएको शवबाट मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई २०८३ भदौ ११ गते भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ।
भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेको छ। यस्तो अवस्थामा मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भएकाले यस्ता गतिविधि रोक्न प्रहरी कडाइका साथ परिचालित भएको जनाएको छ।
प्रहरीले विपद्का समयमा लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण भेटिए तत्काल प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ।


