काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले ३ मिनेट २४ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण पक्षले फिल्म प्रदर्शनपछि निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। विपद्का कारण प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक ट्रेलरमा अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत परिवारले रोजेको युवकसँग विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक द्वन्द्व र त्यसले समाजमा पार्ने प्रभावलाई प्रस्तुत गरिएको छ। मार्मिक कथावस्तुमा आधारित फिल्मले नेपाली समाजमा विद्यमान सामाजिक र पारिवारिक यथार्थलाई उठान गरेको देखिन्छ।
विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्कालगायतको अभिनय छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन्।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’की प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) हुन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको फिल्ममा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता छन्।
निर्माता उग्रसेनको मूल कथामा आधारित फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा लेखेका हुन्। सुरेन्द्र रानाको शब्द तथा कर्णराज गिरीको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर छ।
दिपेन बस्न्यातको छायांकन, गौतम खड्काको सम्पादन, साहिल खानको टिजर तथा ट्रेलर कट, रामजी लामिछानेको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्दैछन्। फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।


