काठमाडौं । भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ। प्रेम र मायाको भाव समेटिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो।
सुरज तामुको शब्द तथा संगीत रहेको गीतमा सुजसँगै शान्ति श्री परियारको स्वर छ। मनोज थापा मगरले संगीत संयोजन गरेको गीतमा मौलिक स्वादसँगै प्रेम र भावनालाई प्रस्तुत गरिएको छ। गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अभिनेत्री अनुशा राईलाई देख्न सकिन्छ।
चलचित्रको कथासँग जोडेर तयार पारिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र पारिवारिक सम्बन्धको पाटोलाई समेत संकेत गर्छ। निर्माण पक्षका अनुसार बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री पाटोमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष चलचित्रको महत्वपूर्ण हिस्सा हो।
माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ले लाहुरे जीवन, पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। पेन्सनपट्टामा आमाको नाम नभई बाबुको पहिलो पत्नीको नाम उल्लेख भएको प्रसंगबाट कथा अघि बढ्छ।
वर्षौंदेखि परिवारको स्मरणबाट समेत ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत हराएको पेन्सनपट्टासँगै पारिवारिक विगत, सम्बन्धको दूरी, पहिचान र पेन्सन अधिकारसँग जोडिएका जटिलतालाई कथामा समेटिएको छ।
निर्देशक गुरुङका अनुसार भूतपूर्व गोर्खालीको योगदानसँग जोडिएको पेन्सनले परिवारमा पार्ने प्रभाव चलचित्रको महत्वपूर्ण पक्ष हो। यद्यपि कथा पेन्सनमा मात्र सीमित छैन। प्रेम, भावना र पारिवारिक सम्बन्धका विभिन्न तहलाई समेत चलचित्रमा प्रस्तुत गरिएको उनले बताएका छन्।
गुरुङले करिब १२–१५ वर्षदेखि चलचित्र निर्माण गर्ने सोच बोकेको बताए। गोर्खालीको निधनपछि परिवारले पाउनुपर्ने पेन्सन सहज रूपमा प्राप्त गर्न नसक्दा उत्पन्न हुने समस्या र त्यसले पारिवारिक सम्बन्धमा ल्याउने उतारचढावलाई चलचित्रको कथामा समेटिएको उनको भनाइ छ।
धन, सम्पत्ति र प्रतिष्ठाभन्दा मानवीय सम्बन्ध, त्याग र आत्मिक सन्तुष्टिलाई चलचित्रले प्राथमिकता दिएको निर्देशक गुरुङले बताएका छन्।
‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक हुनुअघि चलचित्रले पोस्टर, टिजर, पहिलो गीत तथा ट्रेलर सार्वजनिक गरिसकेको छ। प्रचार सामग्रीले दर्शकको ध्यान तानेसँगै प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र बनाएको छ। नयाँ गीतले चलचित्रको प्रेमकथा र कलाकारबीचको सम्बन्धलाई लिएर दर्शकमा थप उत्सुकता जगाउने अपेक्षा निर्माण पक्षको छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन्। सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन्।
चलचित्रको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका हुन्। निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन्। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सुरज तामु र केर डी कोइन्च लिनुच सह–लेखक छन्। राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशक हुन्।
माओत्से गुरुङ निर्देशित चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र पाएको छ। प्रमाणपत्रसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ।
चलचित्रलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन्। ‘पेन्सन पट्टा’ भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउनेछ।


