काठमाडौँ । आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्की साइँला’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले मंगलबार ट्रेलर सार्वजनिक गरेको हो।
‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन वरिपरि केन्द्रित छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह, सन्तानको चाहना र गाउँलेको हेपाहा प्रवृत्तिलाई ट्रेलरमा प्रस्तुत गरिएको छ।
कार्की साइँला आफ्नो जीवनमा दुःख भए पनि अरूका लागि लमी बनेर सहयोग गर्ने पात्रका रूपमा देखिन्छन्। गाउँमा आएकी एक युवती (प्रियाना आचार्य)को भारी बोकेर सहयोग गरेपछि उनले पैसा लिनसमेत अस्वीकार गर्छन्। त्यसपछि उनीहरूबीच प्रेम, विवाह हुँदै सन्तान प्राप्तिसम्मको सम्बन्ध अघि बढेको ट्रेलरमा देखाइएको छ।
फिल्मले पुरुष र महिलाको भावनात्मक अभिव्यक्तिबीच समाजले बनाएको फरक दृष्टिकोणलाई समेत उठाएको छ। ‘महिलाले जहाँ रोए पनि हुन्छ, तर पुरुषले रुनका लागि एकान्त खोज्नुपर्छ’ भन्ने भावमार्फत पुरुषको पीडा र सामाजिक सोचमाथि प्रश्न गरिएको छ।
कार्की साइँलाको जीवनमा आउने उतारचढाव, प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक विभेदको कथा फिल्मले कसरी प्रस्तुत गरेको छ भन्ने कुरा भने असोज २ गतेपछि दर्शकले हेर्न पाउनेछन्।
फिल्ममा जितु नेपालसँगै प्रियाना आचार्य, सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मालगायतका कलाकारको अभिनय रहेको छ।
डम्बर राईको कथामा बनेको फिल्मको पटकथा तथा संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गरेका छन्।
बालकुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको संगीत रहेको फिल्मको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा सिबी भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको शृंगार रहेको छ। पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको फिल्मको वितरणको जिम्मा कुबेर फिल्मस्ले लिएको छ।


