काठमाडौं, २५ भदौ । असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चमेलीको पोइ’को दोस्रो गीत सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत ‘माया मान्छौ र..’ बोलको गीत सार्वजनिक गरिएको हो।
आशिष अविरलको संगीत तथा एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरल र मेलिना राईको स्वर छ। मुस्ताङका सुन्दर तथा रमणीय स्थानमा खिचिएको गीतको भिडियोमा सुरक्षा पन्त र मुकुन भुसाललाई देख्न सकिन्छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
यसअघि चलचित्रको शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक गरिएको थियो। उक्त गीतले दर्शकमाझ राम्रो चर्चा पाइरहेका बेला निर्माण पक्षले चलचित्रको दोस्रो गीत पनि सार्वजनिक गरेको हो।
निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्रमा करिब डेढ दशकपछि हास्य अभिनेता नारायण त्रिपाठी ‘प्रेमचरो’ ठूलो पर्दामा फर्किएका छन्। उनको पुनरागमनलाई पनि चलचित्रको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
‘चमेलीको पोइ’मा नारायण त्रिपाठीसँगै मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रविन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा र अनुष्का नारायणलगायत कलाकारको अभिनय छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रको छायांकन शेरबहादुर तामाङले गरेका हुन्। उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता तथा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदीपकुमार सापकोटा सह–निर्माता रहेका छन्।
धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादन छ।
यसअघि अमेरिकामा गरिएको चलचित्रको विशेष प्रदर्शनमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ। निर्देशक बोहराले चलचित्रले मनोरञ्जनसँगै सामाजिक तथा जीवनोपयोगी सन्देश दिने बताएका छन्।
‘चमेलीको पोइ’ असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ।


