चितवन । सुजित बुढाथोकीको उत्कृष्ट प्रदर्शनमा देवदह ब्वाइज रुपन्देहीले रेडहर्ष एफसी इलामलाई फराकिलो अन्तरले पराजित गर्दै हानामी तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाल प्रहरी शिक्षालय भरतपुर तालिम केन्द्रको मैदानमा सोमबार भएको एकतर्फी खेलमा देवदहले रेडहर्षलाई ६–० गोलले पराजित गरेको हो।
देवदहको जितमा सुजित बुढाथोकीले एक्लैले चार गोल गरे। सुरज चौधरी र निरज थापाले समान एक गोल थपे। चार गोल गरेका सुजित केल्मी प्लेयर अफ दि म्याच घोषित भए।
अब देवदहले प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक भरतपुर फुटबल क्लब (बीएफसी) को सामना गर्नेछ। बीएफसीले यसअघि पहिलो क्वाटरफाइनलमा पाकक्षम फुटबल क्लब भुटानलाई ६–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ।
प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ। अन्तिम क्वाटरफाइनलमा एपीएफ फुटबल क्लब काठमाडौं र एनपेनाङ मलेसिया भिड्नेछन्। खेल दिउँसो ४ बजे नेपाल प्रहरी शिक्षालयको मैदानमा हुनेछ।
आठ टोली सहभागी प्रतियोगिता असोज ३ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


