चितवन । भरतपुर महानगरपालिका–४ लंकुमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ।
मंगलबार साँझ करिब ५ः५० बजे रामपुरबाट धर्मचोकतर्फ जाँदै गरेको बा.प्र.०६००२ प ९६४२ नम्बरको मोटरसाइकलले लक्ष्मी माध्यमिक विद्यालय अगाडि बाटो काट्दै गरेका नवलपुर कावासोती नगरपालिका–१० घर भई हाल भरतपुर–४ हस्पिटलचोकमा डेरा गरी बस्ने जीवन लामाका ८ वर्षीय छोरा बिनोद लामालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका बिनोदलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उनको टाउको र दाहिने खुट्टामा चोट लागेको थियो।
उपचारका क्रममा साँझ ८ः४८ बजे चिकित्सकले बिनोदलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१९ रामपुरका २३ वर्षीय समीर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय नारायणगढ पठाइएको प्रहरीले जनाएको छ।


