काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सन्तानको भविष्यका लागि जीवनभर त्याग र संघर्ष गर्ने बुवा तथा उनको योगदान नबुझ्ने छोराहरूको कथा प्रस्तुत गरिएको छ।
घरसमेत धितोमा राखेर छोराको सपना पूरा गर्न तयार हुने बुवाको योगदानलाई छोराले बेवास्ता गरेको प्रसङ्ग ट्रेलरको मुख्य विषय बनेको छ। बुवाले छोराछोरीबीच सम्पत्ति बाँडफाँट गर्ने कुरा उठाउँदा छोराले अस्वीकार गर्ने व्यवहारसमेत ट्रेलरमा देखाइएको छ।
आफ्नै सन्तानले बुवाआमाको समस्या नबुझ्दा उनीहरूले भोग्नुपर्ने आर्थिक समस्या, अपमान र पारिवारिक तनावलाई ट्रेलरले प्रस्तुत गरेको छ। महत्वाकांक्षी र अव्यावहारिक छोराहरूका कारण मध्यमवर्गीय परिवार कसरी आर्थिक समस्यामा फस्छ भन्ने पक्षलाई पनि कथाले समेटेको छ।
ट्रेलरमा छोराभन्दा छोरीले अभिभावकको पीडा र समस्या बुझ्ने संकेत गरिएको छ। छिमेकीले समेत बुवाको पीडा बुझिरहेको देखाइएको ट्रेलरमा सकारात्मक सोच राख्ने बुवा र छोरी नै गम्भीर समस्यामा फसेको प्रसङ्गलाई भने सस्पेन्समा राखिएको छ।
परिवार र सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष तथा जीवनभर सामना गर्ने चुनौतीलाई मुख्य कथा बनाइएको चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन्।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ चर्चित गीत दिएका हरि लम्साल रचनाकार तथा गायकसमेत हुन्। ‘बा : एक योद्धा’ उनको फिचर चलचित्र निर्देशनमा डेब्यु हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि लम्सालकै हो।
वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सह–निर्माता छन्।
शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन्। चलचित्रलाई आशिष एच. तामाङ र प्रदीप धामीको कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।


