काठमाडौं । नेपाली चलचित्र ‘जदौ’को ट्रेलर सार्वजनिक भएको छ। आगामी असोज ९ गते इन्द्रजात्राको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्रको २ मिनेट २२ सेकेन्ड लामो ट्रेलर बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरले प्रेम र सामाजिक विभेदबीचको द्वन्द्वलाई प्रस्तुत गरेको छ। फरक जातका कारण प्रेम सम्बन्धमा आउने अवरोध, समाजको दबाब र कथित तल्लो जातमाथि गरिने विभेदलाई चलचित्रको प्रमुख कथावस्तुका रूपमा देखाइएको छ। ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई पनि स्थान दिइएको छ।
अन्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्रको कथा तथा लेखन काजी लिम्बूले गरेका हुन्। चलचित्रमा ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी, मुकुन भुसाल, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल र खड्गबहादुर पुन मगरलगायत कलाकारले अभिनय गरेका छन्।
सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता रहेको चलचित्रमा श्याम तामाङ र नवराज उप्रेतीको छायांकन छ। बनिष शाहले सम्पादन गरेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत तथा मनोज चौलागाईंको पार्श्व संगीत रहेको चलचित्रका ‘तिमीसँग नबोली’ र ‘जदौ हजुर’ बोलका गीत यसअघि नै सार्वजनिक भइसकेका छन्।
चलचित्रले प्रेमकथामार्फत नेपाली समाजमा रहेको जातीय विभेद र त्यसले सिर्जना गर्ने सामाजिक तथा व्यक्तिगत संघर्षलाई पर्दामा प्रस्तुत गर्ने जनाएको छ। ‘जदौ’ असोज ९ गतेदेखि प्रदर्शनमा आउनेछ।


