काठमाडौं । नेपाली चलचित्र ‘चंगुल’को ट्रेलर सार्वजनिक गरिएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरले देशमा भएका राजनीतिक परिवर्तन र त्यसले समाजमा पारेको प्रभावलाई कथाको केन्द्रमा राखेको देखिन्छ।
असोज १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘चंगुल’ले सुरुवातदेखि नै फरक शैली अपनाउँदै प्रचारलाई अघि बढाइरहेको छ। केही दिनअघि चलचित्रको टिजर जेन्जी स्मृति सभाको मञ्चबाट सार्वजनिक गरिएको थियो।
चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने क्रममा निर्माण पक्षले नाफाको केही हिस्सा घाइते जेन्जी नेपाललाई सहयोग गर्ने तथा बाढीपीडितका लागि समेत रकम छुट्याउने बताउँदै आएको छ।
मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेशकुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, कृष्ण रसाल र रोहित ढुंगानालगायत कलाकारको अभिनय छ। बालकलाकार रिम्शा कार्कीको समेत चलचित्रमा अभिनय रहेको छ।
चलचित्रका गीतमा विपिन आचार्य, नन्दनी अधिकारी र विक्रम कार्कीको संगीत रहेको छ। देव महर्जनले द्वन्द्व निर्देशन गरेको चलचित्रको छायांकन तथा सम्पादन दीपेन बस्न्यातले गरेका हुन्।
‘चंगुल’ले राजनीतिक परिवर्तनको पृष्ठभूमिमा सामाजिक घटनाक्रम र त्यसबाट सिर्जित परिस्थितिलाई कथामार्फत प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।


