काठमाडौं । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले सोमबार ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा कृष्णको भूमिकामा रहेका पल शाहले मलिका महतलाई बोकेर हिँडिरहेको दृश्यबाट कथा अघि बढाइएको छ। आमाको औषधि लिन अस्पताल पुगेका कृष्णले मलिकालाई जीवनभर बोकेर हिँड्ने कुरा गरेको दृश्य टिजरमा देखाइएको छ। त्यही क्रममा आमाले फोन गर्दा कृष्णले फोन उठाउँदैनन्। घर फर्किएपछि आमा सुतिरहेको देखेपछि उनी डराएको दृश्यले कथामा भावनात्मक उतारचढावको संकेत गर्छ।
दसैँको परिवेशमा तयार पारिएको टिजरमा आमा–छोराबीचको सम्बन्ध र पारिवारिक संवेदनालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई फिल्मको मूल विषयवस्तु बनाइएको निर्माणपक्षले जनाएको छ।
विजया दशमीको अवसर पारेर असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको टिजरमा पल शाह, मलिका महत र विपना थापालाई केन्द्रमा राखिएको छ।
फिल्ममा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा रोशन भट्टको संवाद रहेको छ। करण सिंह कार्यकारी निर्माता रहेको फिल्मको छायांकन नवराज उप्रेतीले गरेका छन्।
फिल्ममा बाबुल गिरीको संगीत, गम्भीर विष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्।
ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको फिल्मलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्ने जिम्मेवारी लिएको छ।


