काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा तयार भएको बहुप्रतीक्षित नेपाली फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ। निर्माणपक्षले युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो।
टिजरमा फिल्मका मुख्य पात्र बिके अर्थात् विजय बरालको एआईसँगको कनेक्सनलाई रोचक ढंगले प्रस्तुत गरिएको छ। त्यसपछि काजीको भूमिकामा दयाहाङ राई र मैयाको भूमिकामा सिर्जना गुरुङको प्रवेश देखाइएको छ।
अभिनेता विपीन कार्कीको इन्ट्रीले टिजरलाई थप रोचक बनाएको छ। उनको संवाद बोल्ने शैली र चरित्रले दर्शकमाझ उत्सुकता बढाउने देखिन्छ। अन्त्यमा रिश्मा गुरुङको प्रवेशसँगै टिजर टुंग्याइएको छ।
टिजर हेर्दा ‘कबड्डी ४ः द फाइनल म्याच’ जहाँ टुंगिएको थियो, त्यहीँबाट पाँचौँ शृंखलाको कथा अघि बढाइएको संकेत मिल्छ। निर्देशक गुरुङले पनि नयाँ फिल्ममा अघिल्लो शृंखलाकै कथालाई निरन्तरता दिइएको बताएका छन्।
फिल्मको प्रचार सामग्रीमा भने ‘कबड्डी ४’की मुख्य अभिनेत्री मिरुना मगरलाई अहिलेसम्म लुकाइएको छ। यसअघि सार्वजनिक पोस्टरमा समेत उनलाई देखाइएको थिएन। सोमबार सार्वजनिक टिजरमा पनि उनको मैया पात्रलाई नदेखाइएपछि फिल्ममा उनको भूमिका कस्तो हुनेछ भन्ने कौतुहलता थपिएको छ।
विशेषगरी विजय बराल र विपीन कार्कीका चरित्रसँगै नयाँ मैयाको भूमिकामा देखिएकी सिर्जना गुरुङको पात्रलाई लिएर दर्शकमा चासो बढेको छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ। सागर राज कार्यकारी निर्माता छन्।
फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, रिश्मा गुरुङ र सिर्जना गुरुङ मुख्य भूमिकामा छन्। उनीहरूसँगै पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्यलगायत कलाकारको अभिनय छ।
कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको फिल्मको छायांकन सञ्जय लामाले गरेका हुन् भने सम्पादन सुरेन्द्र पौडेलको छ।
सोमनाथ खनाल र तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्मलाई नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट एन्ड टी फल्क तथा विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।
यसअघि ‘कबड्डी’का चारवटै शृंखला दर्शकमाझ पुगेका थिए। पाँचौँ शृंखलाले अघिल्ला फिल्मले बनाएको अपेक्षाबीच आफ्नो कथा अघि बढाउने तयारी गरेको छ। ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।


