चितवन । दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको तयारी तीव्र पारिएको छ। चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा दोस्रो मिस्टर चितवन, प्रथम पुरुष स्पोर्टस् फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता असोज १६ र १७ गते भरतपुरस्थित सिएमटी रिसोर्टमा हुने भएको छ।
प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिका तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यससँगै मास्टर वेट, पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुलातर्फ पनि प्रतिस्पर्धा हुनेछ।
संघका अध्यक्ष प्रकाश गुरुङका अनुसार प्रतियोगिताको दोस्रो संस्करणमा पुरुष स्पोर्टस् फिजिक्स विधा थप गरिएको हो। प्रतियोगितामा चितवनका करिब ७० जना खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। असोज १६ गते खेलाडीको तौल तथा उचाइ मापन गरिनेछ भने १७ गते विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारीले गर्ने आयोजकले जनाएको छ।
मिस्टर चितवन ओभरअलतर्फका विजेताले गोल्ड मेडलसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विभिन्न तौल समूह तथा मास्टर वेटका विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै, महिला एथ्लेटिक्स फिजिक्स र पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सम्पन्न गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसअघि २०८१ सालमा आयोजित पहिलो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको उपाधि राजकुमार मानन्धरले जितेका थिए।


