काठमाडौं । आगामी बडादशैँको अवसरमा असोज ३० गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’को अन्तिम चरणको छायांकन सुरु भएको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्य छायांकनका लागि मुख्य अभिनेता पल शाह, निर्देशक चन्द्र पन्त, अभिनेत्री रिश्ता गुरुङसहितको टोली हङकङ पुगेको हो।
हङकङमा चलचित्रको छायांकन तथा लाइन प्रोडक्सनको व्यवस्थापन खुसी इन्टरटेनमेन्टले गरिरहेको निर्माण पक्षले जनाएको छ। हङकङका विभिन्न स्थानमा पल शाह र रिश्ता गुरुङसँग सम्बन्धित केही महत्वपूर्ण तथा भावनात्मक दृश्य छायांकन गरिने निर्देशक चन्द्र पन्तले बताएका छन्।
नेपालमा पारिवारिक तथा भावनात्मक दृश्यको अधिकांश छायांकन सकिएपछि कथाको मागअनुसार प्रवासी जीवनको परिवेशलाई समेट्न हङकङको सेड्युल तय गरिएको हो। चाडपर्वका बेला गाउँमा आमाले गर्ने पर्खाइ र परदेशमा रहेका सन्तानले भोग्ने बाध्यताबीचको सम्बन्धलाई चलचित्रको कथाको मुख्य आधार बनाइएको निर्माण पक्षको भनाइ छ।
हङकङको छायांकन सकिएपछि टोली नेपाल फर्किएर पोस्ट–प्रोडक्सनको बाँकी काममा जुट्नेछ।
यसअघि सार्वजनिक चलचित्रको टिजरले तीन दिनमै ४२ लाखभन्दा बढी भ्युज पाएको निर्माण पक्षले जनाएको छ। मंगलबार सार्वजनिक पहिलो रोमान्टिक गीत ‘अचेल किन कान्छी’ले पनि युट्युब तथा टिकटकमा चर्चा पाइरहेको छ।
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रमा पल शाह र रिश्ता गुरुङसँगै विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतलगायतको अभिनय छ।
रोशन भट्ट र चन्द्र पन्तको लेखन रहेको चलचित्रका कार्यकारी निर्माता करण सिंह हुन्। आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने ‘आ बाट आमा २’ आगामी २०८३ असोज ३० गते बडादशैँको अवसरमा प्रदर्शनमा आउनेछ।


